
धनकुटा, मंसिर १४ :
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि धमाधम प्रतिनिधि छनोटको काम भइरहेको छ । यसैक्रममा धनकुटामा प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा मतपत्र च्यात्नेदेखि तालाबन्दीसम्म भएका छन्।
शनिबार एमाले केन्द्रीय सदस्य राजेन्द्र राई समूहले सहमति उल्लंघन गर्दै जबरजस्ती गर्न खोजेको भन्दै प्रदेश कमिटी सदस्य इन्द्रमणि पराजुली समूहले मतपत्र च्यात्नेदेखि तालाबन्दीसम्म गरेका हुन् ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित भक्तपुरमा यही मंसिर २७ गतेदेखि २९ गतेसम्म एमालेको राष्ट्रिय महाधिवेशन हुँदै छ ।
भक्तपुरस्थित सल्लाघारीमा उद्घाटन हुने ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् ।