
वैदेशिक रोजगारसम्बन्धी नीतिगत समस्या समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिपक्षीय कार्यदल गठन गर्ने भएको छ। श्रम सचिव कृष्णहरि पुष्करका अनुसार वैदेशिक रोजगार ऐन संशोधनको प्रक्रियासँगै म्यानपावर कम्पनी, स्वास्थ्य संस्था र अभिमुखीकरण केन्द्रबीचको भूमिकालाई स्पष्ट पार्न कार्यदल आवश्यक परेको हो।
वैदेशिक रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा रोजगार व्यवसायी संघ, स्वास्थ्य व्यवसायी महासंघ र अभिमुखीकरण महासंघका प्रतिनिधि रहने कार्यदलले दुई साताभित्र प्रतिवेदन दिनेछ। सो प्रतिवेदनका आधारमा प्रधानमन्त्रीसँग छलफल गरी नीतिगत निर्णय लिइने बताइएको छ।
पुष्करले सेवा शुल्क निर्धारण, श्रमिकलाई सहुलियत ऋण उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको तथा वैदेशिक रोजगार क्षेत्रमा कुनै प्रकारको एकाधिकार स्वीकार नहुने समेत स्पष्ट पारे। हालै मलेसियाले तोकेको मापदण्डलाई नेपालले अस्वीकार गरेको र त्यसबारे मलेसियाबाट प्रतिक्रिया नआएको उनले जानकारी दिए।