हेटौंडा, मंसिर २१ :

सर्वोच्च अदालतबाट उत्प्रेषण आदेश जारी भएलगत्तै हेटौंडामा जारी सडक सीमा संरक्षण तथा विस्तार अभियान स्थगित भएको छ। सडक डिभिजन हेटौंडाले आइतबार पत्रकार सम्मेलन गर्दै अदालतको आदेशअनुसार दिउँसो १२:४६ बजेदेखि सबै विस्तार कार्य रोकिएको जानकारी दिएको हो।

सडक डिभिजनले मंसिर ५ गते गोरखापत्रमा सूचना प्रकाशित गरी हेटौंडा बजारअन्तर्गत पर्ने राजमार्गको दायाँ–बायाँ २५/२५ गज भित्रका संरचना हटाउन आग्रह गरेको थियो। सोही सूचनाअनुसार शनिबारदेखि संरचना हटाउने र सडक विस्तार गर्ने काम सुरु गरिएको थियो।

तर, सूचनाविरुद्ध केही सरोकारवालाले सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेपछि अदालतले मिति २०८२/०८/१९ मा उत्प्रेषण आदेश जारी गरेको र उक्त आदेश २०८२/०८/२१ गते दिउँसो १२:४६ बजे म्याद तामेल भएको सडक डिभिजनले जनाएको छ।

अदालतको आदेशलाई पूर्ण सम्मान गर्दै हालका लागि सूचनामा उल्लेख गरिएका सबै प्रक्रिया स्थगित गरिएको डिभिजन प्रमुख डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले स्पष्ट पारेका छन्।