
प्रतीकात्मकर तस्बिर ।
मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा बुहारीले खानामा विष हालेर खुवाएको घटनामा ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको छ भने उनका पति ७० वर्षीय भक्तबहादुर राई गम्भीर अवस्थामा छन्। भक्तबहादुरको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।
स्थानीयले शनिबार दिउँसो घर नजिकै खोल्सामा भक्तबहादुरलाई बेहोस अवस्थामा फेला पारी उद्धार गरेका थिए। घरभित्र इन्द्रमाया पनि बेहोस फेला परेपछि दुवैलाई उपचारका लागि नोबेल मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा खानामा विष मिसाइएकाले घटना भएको संकेत मिलेको छ। घटनास्थलमा रहेको खोरमा तीनवटा कुखुरा मृत भेटिएको पनि प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा ३२ वर्षीया भतिजी बुहारी सुनीता कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले बयानमा खानामा विष मिसाएको र त्यसपछि विषको बट्टा अँगेनामा जलाएको स्वीकारेको प्रहरीको दाबी छ। जलेको अवस्थामा विषको बट्टा समेत बरामद गरिएको छ।
विषको प्रकार र घटनाको कारण पोस्टमार्टम, फरेन्सिक र प्रयोगशाला रिपोर्ट आएपछि मात्र निश्चित हुने प्रहरीले जनाएको छ। सुनीतामाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएर म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।