
भन्सार एजेन्टहरुले देशव्यापी पेनडाउन गर्दा भन्सार कार्यालयहरुको काम प्रभावित भएको छ ।
भन्सार एजेन्ट महासङ्घसँग हिजोको वार्ता सकारात्मक नभएपछि पेनडाउन गरेका हुन् । देशभरका सबै भन्सार कार्यालयमा कामकाज ठप्प हुँदा राजस्व संकलन प्रभावित भएको छ । भन्सार जाँचपास रोकिएसँगै नेपालमा हुने सबै प्रकारका मालवस्तुको आयात–निर्यात ठप्प भएको छ ।
मंगलबार भएको वार्तामा सरकारले आन्दोलन फिर्ता लिएर वार्तामा बस्ने आग्रह गर्दा महासंघले माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएपछि पेन डाउन बुधबार पनि कायम रहेको हो । आज पनि वार्ता हुने बताइएको छ ।
महासङ्घले केही समयअघि संसदबाट पारित भएको नयाँ भन्सार ऐनका अन्यायपूर्ण प्रावधान संशोधन गर्न माग गर्दै आएको छ । दफा ७१ (झ) मा कागजात विद्युतीय प्रणालीमा अपलोड गर्दा साना त्रुटिमा समेत जरिवाना लगाउने व्यवस्थामा सबैभन्दा बढी असन्तुष्टि छ । भन्सार प्रणालीमा देखिने सर्भर समस्या, पेशागत हकहित, तथा ऐनका अव्यवहारिक व्यवस्था सच्याउन माग राख्दै चरणबद्ध आन्दोलनअन्तर्गत पेनडाउन भइरहेको भन्सार एजेन्ट महासङ्घले जनाएको छ ।
वीरगंज उद्योग वाणिज्य सङ्घले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भन्सार एजेन्टहरूले उठाएका माग न्यायोचित रहेको निष्कर्ष निकालेको छ ।
नयाँ भन्सार ऐन–२०७९ (संसोधित २०८२) का केही प्रावधानले भन्सार एजेन्टहरूको हकहितमा प्रत्यक्ष असर परिरहेको भन्दै वीरगंज उद्योग वाणिज्य सङ्घले तिनको तत्काल पुनरावलोकन तथा सुधारको माग गरेको छ ।
ऐनका प्रावधानले भन्सार एजेन्टको पेसागत हकहित र सहज काम गर्ने वातावरणमा नकारात्मक असर पुयाएको भन्दै ऐनको मस्यौदा तयार गर्दा देखि नै भन्सार विभाग र अर्थ मन्त्रालयलाई पेसागत हकहित र व्यापार सहजीकरणबारे ध्यानाकर्षण गराउँदा मागलाई बेवास्ता गरेको महासंघको भनाई छ ।