काठमाडौं, मंसिर २५ :

नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनका लागि तोकिएको मापदण्ड र संख्यामा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको छ ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले मापदण्डविपरीत उम्मेदवार सिफारिस गर्न लागेपछि अघिल्लो परिपत्रअनुसार उम्मेदवार सिफारिस गर्न मातहतलाई निर्देशन दिएको हो ।

कांग्रेसले यसअघि १५ मंसिर र १७ मंसिरमा परिपत्र गरेर प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवार सिफारिसको मापदण्ड तोकेको थियो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी परिपत्रमा भनिएको छ,‘कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम उम्मेदवारको सिफारिस गर्नुहुन पुन: गम्भीर ध्यानाकर्षण गराइन्छ।’

पार्टी विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिमको योग्यता पुगेको व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फका लागि समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय गरेर सिफारिस गर्न भनिएको थियो ।

हाल कांग्रेसका क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिहरूले केन्द्रले निर्धारण गरेको मापदण्डविपरीत धमाधम उम्मेदवारहरू सिफारिस गरिरहेका छन् ।