
हेटौँडामा सडक विस्तारको क्रममा घर भत्काउँदा सहन नसकेर तीनजनाले ज्यान गुमाएको दाबी गर्दै पीडित र मानव अधिकारकर्मीहरूले सरकारले मानव अधिकारको घोर उल्लंघन गरेको आरोप लगाएका छन्।
आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा योङ इन्डिजिनियस चीफ कमान्डर सनम लिम्बूले घर भत्काएको सहन नसकेर गुणाबहादुर जोशी र साजन महर्जनले आत्महत्या गरेको र डोजर चलाएकै दिन रामलाल राजथलाको हर्टअट्याकबाट मृत्यु भएको बताए ।
पीडितका अनुसार सरकारले घर निर्माण र किनबेचका सबै प्रक्रिया पूरा गरिसकेको अवस्थामा समेत मुआब्जा नदिई ‘सरकारी जग्गा’ भनेर रातिकै समयमा डोजर चलाएको हो। उनीहरूले मानिस सुतिरहेकै अवस्थामा बल प्रयोग गरिएको र सर्वोच्च अदालतको आदेशसमेत उल्लङ्घन गर्दै सरकारले योजनाबद्ध रूपमा घर भत्काएको आरोप लगाएका छन् ।
मानव अधिकारवादीहरूले घटनालाई ‘राज्य–आतङ्क’को संज्ञा दिँदै विकासको नाममा नागरिकलाई विस्थापित गर्ने प्रवृत्ति निरङ्कुशतापूर्ण भएको बताएका छन्। उनीहरूका भनाइमा सडक विस्तार आवश्यक भए पनि जनताको संरक्षण, प्रक्रिया र क्षतिपूर्ति बिना गरिएको बलपूर्वक कारबाही अस्वीकार्य छ।
पत्रकार सम्मेलनमार्फत पीडितले आफ्नो सम्पत्ति अतिक्रमण गरिएको, सरकारकै नियतबस गैरकानुनी गतिविधि भयो भन्ने आरोप दोहोर्याउँदै छिटो न्याय र क्षतिपूर्तिको माग गरेका छन्।