भक्तपुर, मंसिर २६ :

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारी पूरा भएको छ ।

महाधिवेशन उद्घाटनस्थल भक्तपुरको सल्लाघामा आज एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा महाधिवेशनको तयारी पूरा भएको जानकारी गराएको हो ।विभागका संयोजक राजेन्द्र गौतमले महाधिवेशनको उद्घाटनको तयारी पूरा भएको जानकारी दिँदै पार्टीको सचिवालयको अन्तिम बैठक पार्टी कार्यालय च्यासलमा आज सम्पन्न भएको बताए ।

कार्यक्रममा महाधिवेशन जनपरिचालनका संयोजक एवं एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराईले महाधिवेशनको उद्घाटनसत्रमा देशभरबाट नेता तथा कार्यकर्ताको उपस्थिति रहने बताए । उनले कार्यक्रममा नेपालको एकताको प्रतीकका रूपमा दुई सयभन्दा बढी नेपाली विभिन्न जातजातिको कला, संस्कृति झल्काउने झाँकीको प्रदर्शन गरिने बताए ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लगायतका नेताहरू आउने प्रतिबद्धता जनाइसकेको जानकारी दिँदै विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं नेताहरूको सहभागिता रहने बताए । उनले भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कूटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिहरूको शुभकामना सन्देश प्राप्त भइरहेको बताए ।

त्यसैगरी, महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालले महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न पार्टीको २४ वटा जनसङ्गठनहरूको प्रतिनिधित्व रहनेगरी पाँच सय बढी स्वयंसेवक ड्रेसकोडमा खटिने व्यवस्था गरेको बताए ।

जनसभालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन तालिमप्राप्त स्वयंसेवक परिचालन गरिने बताए । पत्रकार सम्मेलनमा मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको र रातिसम्ममा सम्पूर्ण कार्य पूरा हुने बताए ।