
यतिबेला नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत बन्दसत्र चलिरहेको छ । एमालेको नेतृत्वको लागि ईश्वर पोखरेल र केपी शर्मा ओलीको दाबी रहेको छ । महाधिवेशनको माहोल हेर्ने हो भने फेरि पनि ओलीकै नेतृत्व रहने छाँटकाँट देखिएको छ । यही विषयमा एमालेका महाधिवेशन प्रतिनिधिहरुसँग सक्रिय खबरले कुराकानी गरेको छ । प्रस्तुत छ, महाधिवेशन प्रतिनिधिहरुसँग गरिएको कुराकानीको सम्पादित अंश:
नेकपा एमालेले तोकिएको समयभन्दा अगाडि नै महाधिवेशन गरेको छ, यस्तो किन गरिएको हो ? कसरी लिनुभएको छ ?
नेकपा एमालेको यो ११औँ महाधिवेशन निकै महत्वपूर्ण र समय सान्दर्भिक महाधिवेशन हो । विषम् परिस्थितिमा पनि यो महाधिवेशन हुनु पर्ने समय भन्दा अगाडि नै भइरहेको छ । देशको परिस्थिति र जनताको भावनालाई मध्यनजर गर्दै यो महाधिवेशन गरिएको हो । यो महाधिवेशनले एमालेको अबको नेतृत्व चयन गर्नेछ । देशमा भइरहेको विषम् अवस्थालाई सुधार्न, राष्ट्रलाई र संविधानलाई सही बाटोमा ल्याउन यो अधिवेशन आवश्यक र महत्वपूर्ण छ ।
अहिले देशमा युवा नेतृत्व आउनुपर्ने आम जनताको माग छ । युवाहरुको नेतृत्व आवश्यक छ भन्ने आवाजहरु उठिरहेको समयमा नेकपा एमालेको नेतृत्वमा भने उही पुरानै अनुहारहरु दोहोरिँदै छन् ।
एमालेमा नयाँ अनुहारले नेतृत्वमा आउन नचाहेको हो कि पार्टीमा त्यो खालको माहोल बन्न नसकेको हो ? पुरानै नेतृत्व दोहोरिनुको कारण के हो ?
युवा भन्ने बित्तिकै युवा अहिले नै आइहाल्नु पर्छ भन्ने हैन । अब एउटा सक्षम ड्राइभर जोसँग लाइसेन्स छ, गाडी राम्रोसँग चलाइरहेको छ, उसको ठाउँमा अहिले नै अर्को सहायक ड्राइभरलाई गाडी जिम्मा दिनुपर्छ भन्ने हैन । यत्रो देश चलाउने विषयमा अनुभव र क्षमता भएको मान्छेलाई अगाडि बढाउने हो । यसैपनि हाम्रो पाटीमा विभिन्न तहमा युवा नेतृत्वलाई नै अगाडि बढाइएको छ । तपाईंहरुले देखिराख्नु भएको छ, नेकपा एमाले सबैभन्दा धेरै युवाहरुको मनोभावलाई समेटेर युवाहरुकै नेतृत्वमा रहेको पार्टी हो । राजनीतिमा पुस्ता भन्ने हुँदैन । राजनीतिमा विचार र सिद्धान्त हुन्छ । जसले विचार र सिद्धान्तलाई राम्रोसँग पालना गर्न सक्छ उही योग्य व्यक्तिले नेतृत्व गर्ने हो । तर पनि देशको परिस्थिति र समयको माग अनुसार हामीले युवाहरुलाई समेटेका छौँ ।
अबको नेतृत्व ईश्वर पोखरेल कि केपी शर्मा ओली ?
हेर्नुस्, दुबैजना पार्टीका अग्रज र अत्यन्तै महत्वपूर्ण, सक्षम, आदारणीय व्यक्तित्वहरु हुन् । हामी भरसक चुनावै नगरी सहमतीमा अगाडि बढ्न सल्लाह दिँदै छौँ । देशको परिस्थिति, समयको माग तथा आम जनता र कार्यकर्ताहरुको चाहनालाई हेर्ने हो भने केपी ओलीकै नेतृत्व हामी चाहन्छौँ । देशलाई यो अवस्थाबाट निकास दिन सक्ने केपी बा नै हुन् । केपी ओलीको अरु कुनै विकल्प नै छैन ।
देशको यो अप्ठेरो परिस्थितिमा एमालेको भूमिका कस्तो रहन्छ ? देशलाई समृद्ध बनाउन एमालेको अबको योजना कस्तो छ ?
हामी हिजो पनि सच्चिएका थियौँ । आज पनि सच्चिन्छौँ र भोलीपनि सच्चिने छौँ । नेकपा एमाले कहिले पनि बिग्रेकै छैन । केही मानिसहरुले खराब देखाउने प्रयास गरेका हुन् । अबको नेतृत्वले के कसरी देशलाई राम्रो बनाउन सकिन्छ त्यही अनुसार योजनाहरु निर्माण गरेर अगाडि बढ्ने छ । नेकपा एमाले देशको विकासमा सबैभन्दा धेरै योगदान दिएको पाटी हो । अब पनि सदैव देश र जनताको हितमा काम गर्ने छौँ ।
एमालेको नयाँ नेतृत्वले दलित, महिला, जनजाति, पिछडिएका समूह, विकट ठाउँका व्यक्तिहरुलाई कसरी समेट्छ ? उनीहरुको अवस्था राम्रो बनाउन अबको एमालेले कस्तो नीति ल्याउँछ ?
हेर्नुस्, नेकपा एमालेमात्र एउटा यस्तो पाटी हो जसले हरेक समूदायको सहभागितामा जोड दिएको छ । अहिलेको नेतृत्वमा पनि हरेक समूहका मानिसहरुलाई समेटेका छौँ । सबै क्षेत्र र वर्गका मासिलाई नेतृत्वमा अगाडि बढाउनु नै हाम्रो लक्ष्य हो । शिक्षा, स्वास्थ्य तथा हरेक सेवाका क्षेत्रहरुमा हरेक वर्गका मानिसहरुको समान पहुँचको लागि लड्ने पाटी नेकपा एमाले हो । हामीले सबैलाई समान रुपले अगाडि बढाइरहेका छौँ ।
फाल्गुन २१ मा हुने भनिएको निर्वाचनमा नेकपा एमालेले कसरी सहभागिता जनाउँछ ? तयारी कस्तो छ ?
नेकपा एमाले देशको सबैभन्दा बलियो राजनीतिक शक्ति भएको पाटी हो । यो पाटी चुनावसँग कहिले पनि डराउँदैन । अहिलेको यो असंवैधानिक सरकारले चुनाव गराउन सक्छ जस्तो पनि हामीलाई लाग्दैन । हामी बरु जेन्जी साथीहरुलाई पनि समेटेर संसद पुनः स्थापना गर्ने र संविधानमा केही सच्यानु पर्ने कुराहरु भए संसदबाट सच्याएर अगाडि बढ्ने पक्षमा छौँ । तर यदि चुनाव भएछ नै भने पनि हामी चुनावबाट भाग्दैनौँ । यसलाई सामना गरेर देशको पहिलो पाटी बन्नेछौँ र देशलाई नयाँ ढङ्गले विकासको बाटोमा अगाडि बढाउनेछौँ ।