शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन #सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन
समाचार राजनीति

सधैँ पदमा रहनुपर्छ भन्ने मान्यता एमाले नेताहरु ज्ञवाली, शाक्य र बडालबाट तोडिएपछि...

नेताहरूको सक्रिय राजनीतिबाट बिदाइले नयाँ पुस्तालाई बाटो खोलेको अवसरका रुपमा लिइएको छ ।
· सोमबार, २९ मंसिर, २०८२ मा प्रकाशित
सधैँ पदमा रहनुपर्छ भन्ने मान्यता एमाले नेताहरु ज्ञवाली, शाक्य र बडालबाट तोडिएपछि...
काठमाडौं, मंसिर २९ :

राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय रहिरहनुपर्छ भन्ने मान्यता नेताहरुमा छ भन्ने भाष्य नेकपा (एमाले) का केही पुराना नेताहरुबाट खण्डित भएको छ ।

अन्य नेताहरु पद र अवसरका लागि सक्रिय रहेको स्थितिमा नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा केन्द्रीय अनुशासन आयोगका अधयक्ष केशव बडाललगायतले अब आफूहरु पार्टीको नेतृत्वदायी वा कार्यकारी पदमा नरहने घोषणा गरेर नयाँ उदाहरण प्रस्तुत गरेका छन्।

एमालेकै अधिकांश नेताहरु आफू पुनः पदमा आउन अध्यक्ष केपी शर्मा ओली वा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूहबाट वा स्वतन्त्ररुपमा उम्मेदवारी हुन तछाडमछाड गरिरहेका बेला एमालेको महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटीको अन्तिम बैठकमा उपाध्यक्षहरु ज्ञवाली र शाक्यले लगातार एकै व्यक्ति पदमा रहिरहन नहुने र अब आफूहरुको पालो पुगेकाले अब कुनै पदमा उम्मेदवार नबन्ने जानकारी गराए ।

यस्तै बन्दसत्रमा समय लिएर आयोगका अध्यक्ष बडालले आफू अब जिम्मेवारीमा नहरने उद्घोष गरे । उनीहरुले पदमा नहरने भए पनि पार्टीको नीति र विचारका पक्षमा जहाँ रहेर पनि दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

पार्टीको दुई कार्यकाल एकै पदमा नरहने र कार्यकारी पदमा ७० वर्षे उमेर हद आवश्यक छ भन्ने पक्षमा रहनुभएका उनीहरुले पार्टीले विधानमा ती व्यवस्था कायम नराखेको अवस्थामा आफूहरु पदबाट अलग हुने स्पष्ट गरेका हुन्
।

एमाले केन्द्रीय सदस्यहरु दलबहादुर राना, भीम केसी र ईश्वरी जिएमले अबको नेतृत्वमा नआउने भन्दै स्वैच्छिक अवकाश लिने घोषणा गरेका छन्। पञ्चायती व्यवस्था विरुद्धको सङ्घर्षदेखि बहुदलीय लोकतन्त्र, संविधान निर्माण र सङ्घीय व्यवस्थासम्मको लामो राजनीतिक यात्रा पार गरेर पार्टीको माथिल्लो तहमा पुग्नुभएका उनीहरु वैचारिक र सादगी नेताहरु मध्येमा पर्नुहुन्छ ।

लामो समय पार्टीको सङ्गठन, सरकार सञ्चालन र वैचारिक बहसमा संलग्न रहँदै आएका नेताहरूको सक्रिय राजनीतिबाट बिदाइले नयाँ पुस्तालाई बाटो खोलेको अवसरका रुपमा लिइएको छ । विसं २०२६ देखि कम्युनिष्ट पार्टीमा लाग्नुभएका पूर्वसंविधानसभा सदस्य उपाध्यक्ष ज्ञवाली २०६० सालमा स्थानीय विकासमन्त्री बनेका थिए । उनले पार्टीको केन्द्रीय कमिटीमा लामो समय रहेर सङ्गठन विभाग प्रमुखको जिम्मेवारी पनि सम्हालेका थिए ।

पार्टीको सल्लाहकार पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रहनुभएका नेत्री शाक्य एमालेको सङ्गठन निर्माण र महिला नेतृत्व सुदृढीकरणमा अग्रणी नेतृ मानिनुहुन्छ । बागमती प्रदेश सरकारको पूर्वमुख्यमन्त्री शाक्य राष्ट्रपति पदका उम्मेदवार बनेका थिए। बडाल पूर्वसांसद तथा सहकारी अभियानका अगुवा हुन् । नेपाली राजनीतिमा पुस्तान्तरण केवल उमेरको विषय नभई दृष्टिकोण, कार्यशैली र राजनीतिक संस्कारसँग जोडिएको विषयका रुपमा चर्चाको विषय हुँदै आएको छ ।

एमाले महाधिवेशनको बन्दसत्रअन्तर्गत सोमबार उम्मेदवारीको मनोनयन भएकाले थप कुन कुन नेताले पुनः केन्द्रीय कमिटीमा उम्मेदवारी दिँदैनन् भन्ने त्यसपछि थप स्पष्ट हुनेछ ।

विसं २०७१ असारमा सम्पन्न एमालेको नवौँ राष्ट्रिय महाधिवेशनमा पार्टीका दुई कार्यकाल एकै पदमा नरहने र कार्यकारी पदमा ७० वर्षे उमेर हद लगाउने प्रबन्ध गरे लगत्तै तत्कालीन स्थायी कमिटी सदस्य एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी र पार्टीको केन्द्रीय सल्लाहकार कमिटीका अध्यक्ष सिद्धिलाल सिंहले सक्रिय राजनीति परित्यागको घोषणा गरेका थिए ।

एमालेको २०७८ सालमा भएको दशौँ राष्ट्रिय महाधिवेशनमा दुई कार्यकाल एकै पदमा नरहने र कार्यकारी पदमा ७० वर्षे उमेर हद लगाउने व्यवस्था हटाइएको थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार