
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा एक हजार २८२ मत खसेको छ ।
महाधिवेशनस्थल भृकुटीमण्डपमा जारी भएको मतदानमा १० बजेसम्म एक हजार २८२ जनाले मतदान गरेको एमाले केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । बिहान ९:१२ बजेदेखि मतदान सुरू भएकामा मतदान गर्नका लागि सरदर एक जनालाई २५ देखि ३० मिनेट लाग्ने गरेको छ ।
उनले राति १२ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका प्रतिनिधिलाई अबेरसम्म मतदान गर्न पाउने व्यवस्था गरिने बताए । निर्वाचन आयोग उपाध्यक्ष पोखरेलले हालको अवस्थाअनुसार भोलि बिहान ८ बजेसम्म मतदान हुने अनुमान रहेको बताए । “हाल मत हाल्ने लाग्ने गरेको समयअनुसार भोलि बिहान ८ बजेसम्म मतदान हुने देखिन्छ”, उनले भने, “एक जनालाई सरदर २५ देखि ४० मिनेटसम्म मतदान गर्न समय लागेको छ ।”
आयोगले लाइनमा रहेका मतदातालाई सहजताका लागि टोकन वितरण गरेको छ । टोकन लिएर बसेकालाई आयोगले बोलाएपछि मतदान गर्न जाने सुविधा छ ।
एमालेमा ३०१ केन्द्रीय सदस्यीय समितिका लागि करिब ६४२ जनाको उम्मेदवारी परेको छ । मतदानमा दुई हजार २६३ मतदाता सहभागी छन् । हाल मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइएका छन् ।
मतदान सकिएको दुई घण्टामा परिमाण सार्वजनिक हुने आयोगका आयोगका उपाध्यक्ष पोखरेलले बताए ।