काठमाडौं, पुस ३ :

नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान आज बिहान ७ बजे सकिएको छ ।

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हिजो सवा ९ बजे भृकुटीमण्डपमा सुरु भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको हो । मतदानमा ९८.४ प्रतिशत मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

अब मत गणना सुरू हुन कम्तीमा १० बज्ने बताइएको छ ।  २ हजार २ सय ६३ प्रतिनिधिमा २ हजार २ सय २७ मत मात्र खसेको निर्वाचन आयोगले जनाएको छ ।  यो ९८.०४ प्रतिशत हो । ३६ जना भने मतदानमा अनुपस्थित रहेका छन् ।

अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदानको सुरुवात गरेका थिए । नेता योगेश भट्टराईले अन्तिम मतदान गरेका थिए ।

मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको एमालेको ११ औं महाधिवेशन मङ्सिर २८ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्रका रूपमा प्रवेश गरेको थियो ।

अहिले मतगणनाका लागि मुचुल्का उठाउने र सहमति कायम गर्ने काम सुरु  गर्न लागिएको केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो । मतगणना भएको तीन घण्टाभित्र परिमाण आउने पनि उनले बताए ।

एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी  परेको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा गरिएको थियो ।