
नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत भएको मतदानको गणना सुरु भएको छ ।
तीन घण्टाभित्र मत परिणाम सार्वजनिक गरिने केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानु राजा पोखरेलले जानकारी दिए । निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको थियो । ३६ जना भने मतदानमा अनुपस्थित रहेका थिए ।
बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान ७ बजे मात्रै सकिएको थियो।
अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा छ ।
त्यस्तै शक्तिशाली मानिने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डे प्रतिस्पर्धामा छन् ।
सबै पदको नतिजा एकसाथ सार्वजनिक गर्ने आयोगको तयारी छ । २ हजार २ सय ६३ प्रतिनिधिमा २ हजार २ सय २७ मत मात्र खसेको निर्वाचन आयोगले जनाएको छ । यो ९८.०४ प्रतिशत हो । ३६ जना भने मतदानमा अनुपस्थित रहेका छन् ।
एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा गरिएको थियो ।