
नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। हालसम्म १ हजार १३९ मत गन्दा अध्यक्ष पदमा केपी शर्मा ओलीले ८४३ मत प्राप्त गर्दै ईश्वर पोखरेल (२९६) भन्दा दोब्बरभन्दा बढी मतान्तरसहित अग्रता लिएका छन्।
उपाध्यक्षतर्फ पृथ्वी सुब्बा गुरुङ (९००), विष्णुप्रसाद पौडेल (८४६), रामबहादुर थापा ‘बादल’ (७७४), गोकर्णराज विष्ट (७१३) र रघुजी पन्त (६१७) अग्रपंक्तिमा देखिएका छन्।
महासचिव पदमा शंकर पोखरेलले ६१३ मत ल्याउँदै सुरेन्द्र प्रसाद पाण्डे (५२६) भन्दा अघि छन्। तीन जनाका लागि भएको उपमहासचिव पदमा लेखराज भट्ट ७३४ मतसहित अग्रस्थानमा छन्। दोस्रो स्थानमा योगेश भट्टराई (७०९) र तेस्रो स्थानमा रघुवीर महासेठ (६८९) छन्।
विष्णु रिमालले ५४० मत प्राप्त गरे पनि शीर्ष तीनमा पर्न सकेका छैनन्। ओलीका विश्वासपात्र मानिने रिमाल शीर्ष तीनमा नपर्दा पार्टीभित्र चर्चा सुरु भएको छ। यसै पदमा आनन्द प्रसाद पोख्रेलले ३३४, राजेन्द्र प्रसाद गौतमले १४० र वैजनाथ चौधरीले २७१ मत प्राप्त गरेका छन्।
सचिव पदमा महेश बस्नेत (७८३), पद्माकुमारी अर्याल (७७८), छविलाल विश्वकर्मा (७६९), शेरधन राई (७६७) र खगराज अधिकारी (६८०) सहित ओली प्यानलका उम्मेदवारहरू अग्रता लिइरहेका छन्। मतगणना जारी रहँदा पछिल्लो परिणामअनुसार अधिकांश पदमा ओली प्यानलका नेताहरू अघि देखिएका छन्।