
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आज रिहा हुने भएका छन् ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश अनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी आज उनी रिहा हुने भएका हुन् ।
उच्च अदालतका न्यायाधीश द्वय वासुदेव आचार्य र तेज नारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुना मुक्त गर्न आदेश दिएको थियो । आदेशको अन्तिम बुँदामा बिगोको हकमा दायित्व सिर्जना भए तिर्न–बुझाउन मन्जुर हुने कागज गराउनुपर्ने उल्लेख गरिएको छ ।
उक्त आदेशअनुसार लामिछानेलाई कागज गराएर मात्र रिहा गर्न सकिनेछ । उच्च अदालतको पत्र प्राप्त भएपछि बैंक जमानतको प्रमाणीकरण र सनाखतसहित कागजी प्रक्रिया पूरा गरिनेछ ।
लामिछाने हाल ललितपुरस्थित नख्खु कारागारमा थुनामा छन् । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा उनी यसअघि २०८१ माघमा राखेको एक करोड रुपैयाँ धरौटी पुनः राख्नुपर्नेछ । सो धरौटी रकम यसअघि फुकुवा भइसकेको र त्यसबारे उनका कानुन व्यवसायीलाई जानकारी गराइसकिएको अदालतले जनाएको छ ।
बिगोको हकमा दामासाहीले पर्ने रकम सुनिश्चित गर्ने भन्दै लामिछानेले बैंक जमानतसहित उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले उक्त बैंक जमानतलाई सर्तसहित स्वीकार गरेको छ । निवेदनसँग पेस गरिएको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत प्रमाणीकरण र सनाखत गरिने अदालतको भनाइ छ ।
अदालतको आदेशअनुसार सम्पूर्ण प्रक्रिया पूरा भएपछि मात्र उनलाई थुनामुक्त गरिने कारागार व्यवस्थापन विभागले जनाएको छ । लामिछाने आफैँ रूपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएकाले हिजो रिहा हुन सकेका थिएनन् । उनी स्वयं उपस्थित भएर मञ्जुर भएको कागज गरेपछि तारेख लिएर थुनामुक्त हुनेछन् ।
उच्च अदालत, बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गर्दा उनीसँगै प्रतिवादी बनेका पूर्वडीआईजी तथा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी भने थुनामै रहने भएका छन्