काठमाडौं, पुस ८ :

सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालयको अनुगमन गरेको छ ।

सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली सानेपा पुगेर पार्टी कार्यालयको अनुगमन गर्नुका साथै कांग्रेसका नेताहरुसँग छलफल गरेको छ ।

कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले आजै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) लगायत दलका कार्यालय अनुगमन गर्ने कार्यक्रम रहेको छ ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा राजनीतिक दलका कार्यालय, नेताहरुका निवास, सिंहदबार, संसद भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल र निजी तथा व्यवसायिक प्रतिष्ठानहरुमा आगजनी भएको थियो ।