
जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका पूर्वमहानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि लगाइएको स्थानहद फुकुवा गरेको छ।
मंगलबार सरकारलाई पत्र पठाउँदै आयोगले उनीहरूको विदेश भ्रमणमा लगाइएको रोक तथा आयोगको अनुमति बिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था हटाइएको जानकारी दिएको हो।
आयोगका अनुसार अनुसन्धानसम्बन्धी कार्य सम्पन्न भइसकेकाले मिति २०८२/०९/०७ को निर्णयअनुसार स्थानहद फुकुवा गरिएको हो। उक्त पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सम्बन्धित निकायहरूलाई पठाइएको छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा दमन गरिएको आरोपमा आयोगले उनीहरूसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि स्थानहद तोकेको थियो। तर ओली र लेखकको हकमा भने स्थानहद अझै फुकुवा गरिएको छैन। आयोगका अनुसार उनीहरूको बयान बाँकी रहेको छ। पूर्वआईजीपी खापुङ र पूर्वगृहसचिव दुवाडीसँग आयोगले मंसिर २५ र २६ गते बयान लिएको थियो।