काठमाडौं, पुस ११ :

पूर्वनिर्धारित नियमित महाधिवेशनको प्रक्रिया अलमलमा परेको भन्दै नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूले पार्टी नेतृत्वलाई स्मरण पत्र बुझाएका छन् ।

शुक्रबार विशेष महाधिवेशनको माग गर्दै नेता देवराज चालिसेको नेतृत्वमा रहेको समूहले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरण पत्र बुझाएको हो । नियमित महाधिवेशन तोकिएको समयमै हुन नसक्ने अवस्था देखिएपछि विशेष महाधिवेशन नै एक मात्र विकल्प भएको उनीहरूको निष्कर्ष छ ।

नेता चालिसेले नियमित महाधिवेशन अनिश्चित बनेको अवस्थामा पार्टीलाई निकास दिन विशेष महाधिवेशन अपरिहार्य भएको बताए । यसअघि पनि सो समूहले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्दै विशेष महाधिवेशनको माग अघि सारेको थियो ।

उक्त अभियानअन्तर्गत गत असोज २९ गते २ हजार ४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग कार्यवाहक सभापति खड्कालाई बुझाइएको थियो । पार्टीभित्रको संगठनात्मक जटिलता समाधानका लागि नेतृत्वले गम्भीर ध्यान दिनुपर्ने उनीहरूको आग्रह छ ।