
निर्वाचन आयोगले समानुपातिकतर्फको निर्वाचन कार्यक्रम संशोधन गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ । आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।
समानुपातिक निर्वाचन तालिका हेरफेरबारे उठेको प्रश्नमा उनले कार्यक्रम परिवर्तन नहुने स्पष्ट गरे । ‘यो कार्यक्रम संशोधन र परिवर्तन गर्ने पक्षमा आयोग छैन,’ भण्डारीले भने ।
उनले निर्वाचन हुन्छ कि हुँदैन भन्ने बहसको औचित्य नरहेको पनि बताए । ‘अब निर्वाचन हुँदैन कि भन्ने शब्द हाम्रो शब्दकोशमा छैन,’ उनले भने ।
यसपटक निर्वाचन आचारसंहितामा अघिल्लोपटकभन्दा कडाइ गरिने पनि उनले जानकारी दिए । यद्यपि, कतिपय दलले समानुपातिकतर्फको बन्दसूची पेस गर्ने समय थप गर्न माग गरेका छन् । आयोगको कार्यतालिकाअनुसार समानुपातिकतर्फको बन्दसूची यही पुस १३ र १४ गते बुझाउनुपर्ने छ ।