
डोनाल्ड ट्रम्प र भोलोदिमिर जेलेन्स्कीले युक्रेन युद्ध अन्त्यतर्फ प्रगति भएको बताएका छन् ।
उनीहरुबीच फ्लोरिडामा भएको वार्तापछि यो प्रतिक्रिया आएको हो । तर अमेरिकी राष्ट्रपतिले भू–भाग सम्बन्धी समस्या अझै समाधान नभएको स्वीकार गरेका छन्।
अमेरिकी र युक्रेनी राष्ट्रपतिले वार्तालाई उत्कृष्ट भनेका छन्। तर ट्रम्पले एक दुई वटा निकै जटिल विषय अझै बाँकी रहेको बताए, जसमा सबैभन्दा प्रमुख भूमिको विषय हो।
पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले २० बुँदे शान्ति योजनामध्ये ९० प्रतिशतमा सहमति भइसकेको बताए। ट्रम्पले भने युक्रेनका लागि सुरक्षा प्रत्याभूति ९५ प्रतिशत जति तयार भइसकेको दाबी गरे।जेलेन्स्कीले पछि अमेरिकी र युक्रेनी टोलीहरू अर्को हप्ता भेटेर रूससँगको करिब चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने विषयमा थप छलफल गर्ने जानकारी दिए।
“हामीले सबै विषयमा गहिरो र सार्थक छलफल गर्यौँ र पछिल्ला हप्ताहरूमा युक्रेनी र अमेरिकी टोलीहरूले गरेको प्रगतिलाई उच्च मूल्याङ्कन गर्छौँ,” जेलेन्स्कीले टेलिग्राममा जारी गरेको वक्तव्यमा भनेका छन्।
रूसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्ण स्तरको आक्रमण सुरु गरेको थियो र हाल युक्रेनको करिब २० प्रतिशत भू–भाग रूसको नियन्त्रणमा छ।
पूर्वी युक्रेनको डोनबास क्षेत्रलाई जुन अधिकांश रूपमा रूसको नियन्त्रणमा छ असैन्य क्षेत्र बनाउने प्रस्ताव अझै समाधान नभएको ट्रम्पले बताए।
“त्यस क्षेत्रको केही भाग कब्जा भइसकेको छ,” उनले बैठकपछि पत्रकारहरूलाई भने। “केही भूमि अझै विवादमा पर्न सक्छ, तर आगामी केही महिनामा त्यो पनि कब्जामा पर्न सक्छ।”
हाल रूसले डोनेत्स्क क्षेत्रको करिब ७५ प्रतिशत र छिमेकी लुहान्स्क क्षेत्रको लगभग ९९ प्रतिशत नियन्त्रणमा राखेको छ। यी दुवै क्षेत्रलाई संयुक्त रूपमा डोनबास भनिन्छ।
रूसले युक्रेनलाई डोनबासको आफूले नियन्त्रण नगरेको सानो भागबाट पनि फिर्ता हुन दबाब दिइरहेको छ तर कीभले भने उक्त क्षेत्र युक्रेनी सुरक्षाकर्मीहरूले निगरानी गर्ने स्वतन्त्र आर्थिक क्षेत्र बन्न सक्ने अडान राखेको छ।
अमेरिकी राष्ट्रपतिले युक्रेनले गुमाएका भू–भागबारे आफ्नो धारणा पटक–पटक परिवर्तन गर्दै आएका छन्। सेप्टेम्बरमा उनले युक्रेनले ती क्षेत्र फिर्ता लिन सक्ने सुझाव दिएर सबैलाई चकित पारेका थिए तर पछि उनले त्यो धारणा फेरे।
“यो निकै कठिन विषय हो,” उनले भने। “तर यसको समाधान हुनेछ।” उनले भने ।
युक्रेनका लागि सुरक्षा प्रत्याभूति ९५ प्रतिशत पूरा भइसकेको भए पनि ट्रम्पले भविष्यका आक्रमणबाट युक्रेनलाई जोगाउन सैन्य तैनाथी वा रसद सहयोगबारे औपचारिक प्रतिबद्धता जनाएका छैनन्।
ट्रम्पले अमेरिका, रूस र युक्रेनबीच त्रिपक्षीय वार्ताको सम्भावना पनि अघि सारे जुन उचित समयमा हुन सक्ने उनले बताए।
युक्रेन रूस युद्धलाई आफूले अन्त्य गरेको द्वन्द्वहरूको सूचीमा थप्न इच्छुक देखिएका ट्रम्पले चेतावनी पनि दिए कि यदि वार्ता रोकियो वा अत्यन्तै खराब ढंगले असफल भयो भने युद्ध जारी रहन सक्छ।