
नेपाली कांग्रेसमा विशेष महाधिवेशन आह्वान भएपछि संस्थापन पक्षका शीर्ष नेताहरू छलफलमा जुटेका छन्। पार्टी सभापति शेरबहादुर देउवाले आज बिहान आफूनिकट केही नेताहरूसँग छलफल गरेका छन्। देउवाको जोड कुनै पनि विकल्पमार्फत विशेष महाधिवेशन रोक्नुपर्नेमा रहेको बताइन्छ। तर, त्यसका लागि औपचारिक प्रस्ताव अघि सारेका छैनन्।
यसैबीच कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न संस्थापन पक्षका नेताहरूको बैठक बोलाएका हुन्। बैठक आज दिउँसो १ बजे बस्ने छ। सहमतिका सम्भावित विकल्पबारे छलफल गर्न बैठक बोलाइएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाउने निर्णय गरेपछि संस्थापन पक्ष दबाबमा परेको छ। महाधिवेशनको कार्यतालिका संशोधनलगायत विषयमा छलफल गर्न आज दिउँसो ३ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक पनि बस्ने भएको छ।
यसअघि देउवाकै पहलमा निर्वाचनअघि महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो। तर, सो कार्यतालिकाअनुसार क्रियाशील सदस्यताको काम नसकिएपछि संस्थापन पक्ष निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने अडानमा रहँदै आएको छ। महामन्त्रीद्वय थापा र शर्माले पुस २७ देखि २९ गतेसम्म विशेष महाधिवेशन आह्वान गरिसकेका छन् ।