काठमाडौं, पुस २० :

चितवन राष्ट्रिय निकुञ्जमा यही पुस ३ गतेदेखि सुरु भएको बाघ गणना जारी रहेको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गाणना गरिँदैछ भने पहिलो भागको गणना भने सकिएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार पहिलो भागको गणना सकेर क्यामेरा उठाउने काम सुरु गरिएको छ । उनले भने, ‘शनिबारदेखि क्यामेरा उठाउने काम सुरु भएको छ । सोमबारसम्ममा पहिलो भागको क्यामेरा उठाउने काम सम्पन्न हुन्छ ।’ उनका अनुसार यही पुस १ र २ गते तालिम दिएका १५० जना गणकहरू गणनामा खटिएका छन् । 

त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरण्डाभार क्षेत्रलाई पहिलो भाग बनाएर गणना गरिएको सूचना अधिकारी मगरले जानकारी दिए । उनका अनुसार पहिलो भागअन्तर्गत यस क्षेत्रमा २८६ वटा ग्रिड बनाएर गणना गरिएको छ । क्यामेरा उठाएपछि दोस्रो भागमा क्यामेरा जडान गरी गणना सुरु गरिने छ ।

दोस्रो भागमा १३ वटा क्याम्प बनाएर गणकहरू खटिने निकुञ्जका सूचना अधिकारी मगरले बताए । यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, हुदै, बोटे सिमारा, स्वमेश्वर, बगइ, अम्बुवा हुँदै सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिने छ ।

‘सो भागलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिने छ’, उनले भने, ‘एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखिने छ ।’ थापाका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखेर बाघ गणना गरिने छ ।

चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिँदै छ । यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गर्न लागिएको हो । योसँगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ ।

तीन महिना लगाएर बाघ गणना गर्न लागिएको सूचना अधिकारी मगरले उल्लेख गरे । हरेक चार वर्षमा बाघ गणना गरिँदै आइएको छ ।

यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए ।