तुलसीपुर, असोज १२ :

निरन्तरको वर्षाले राप्ती लोकमार्ग अन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि उक्त लोकमार्ग अवरुद्ध भएको छ । 

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले पहिरोका कारण तुलसीपुरको राम्रीबाट सल्यानको कपुरकोट खण्डमा सडक अवरुद्ध भएको जानकारी दिनुभयो । 

सो स्थानमा सडक मर्मत भइरहेकाले काम प्रभावित बनेको उहाँले बताउनुभयो । 

केही स्थानमा पहिरो खसेको र केही स्थानमा सडक भासिएको सहायक प्रजिअ पुनले बताउनुभयो । 

उहाँका अनुसार आजदेखि १३ असोजसम्म सडक मर्मत हुने भएकाले तत्काललाई ठूला सवारी साधन, टिपर र ट्रक सञ्चालनमा रोक लगाइएको छ । 

साना सवारी साधन पहिरो पन्छाएर सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।