
फाइल तस्बिर ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको विशेष महाधिवेशन नहुने ठोकुवा गरेका छन् । सोमबार पत्रकारहरूसँगको कुराकानीमा सिटौलाले विशेष महाधिवेशन हुनै नदिने र पार्टीलाई पनि कमजोर हुन नदिने बताए ।
उनले भने, ‘कांग्रेस पार्टी फुटोस्, कमजोर होस् अनेक झगडा होस् भन्ने चाहना होला । हामी त्यो हुन दिदैनौं ।’ विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई समेत उनले काठमाडौं नआउन आग्रह गरे ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा महाधिवेशन प्रतिनिधिको माग बमोजिम विशेष महाधिवेशनका लागि सक्रिय भएर लागेका छन् । यही पुस २७-२८ गते भृकुटीमण्डपमा गर्ने गरी तयारी अगाडि बढाएका छन् ।
यसैबीच नेता सिटौलाले प्रतिनिधिसभाको निर्वाचनमा पार्टी कसैसँग पनि तालमेल नगर्ने समेत बताएका छन् । राष्ट्रिय सभामा रणनितीक तालमेल हने भए पनि प्रतिनिधिसभामा गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन नै भएको स्पष्ट पारे । ‘राष्ट्रिय सभामा रणनितीक तालमेल हुन्छ’, उनले भने ,‘प्रतिनिधि सभामा गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन नै हो ।’