
फाइल तस्बिर ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठुला दलका शीर्ष नेताहरूप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। पार्टीको समायोजन घोषणा सभालाई सोमबार सम्बोधन गर्दै उनले आफूमाथि लागेका मुद्दा–मामिलालाई राजनीतिक प्रतिशोधको परिणाम भएको दाबी गरे।
शीर्ष नेताहरूलाई लक्षित गर्दै लामिछानेले कटाक्षपूर्ण शैलीमा भने, आफूलाई कमजोर पार्न निरन्तर प्रयास भइरहेको छ। उनले भने, “मलाई त साढे ६ फिटको खाल्डो खने पुग्छ भनेको थिएँ, तर तपाईंहरूले झन् ठूलो खाल्डो खन्नु भयो,तपाईंहरूलाई नपुरी सुखै छैन ।’
उनको भनाइले आफूविरुद्ध भइरहेका गतिविधि नियोजित र प्रतिशोधपूर्ण रहेको संकेत गरेको छ। उनको धरौटीलाई सदर गर्दै उच्च अदालतले तारेखमा रिहा गरेपछि लामिछाने पार्टी एकताका साथै पुराना दलका शीर्ष नेताहरुप्रति तीतो ओकल्दै हिँडेका छन् ।
सभापति लामिछानेले मुलुकले निर्वाचनमार्फत नै निकास पाउने बताए । उनले समयमै निर्वाचन सम्पन्न गरी वर्तमान समस्यको निकास दिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउँदै बिथोल्ने प्रयास नगर्न चेतावनीसमेत दिए ।
‘चुनाव सर्छ कि, हुँदैन कि भन्ने अन्योल सिर्जना गर्ने काम नगर्नुहोस् । निर्वाचन नै मुलुकलाई निकास दिने माध्यम हो’, सभापति लामिछानेले भने, ‘देशले सुनौलो भविष्य कोर्न लागेको बेला अवरोध गर्ने होइन ।’
उनले नयाँ पुस्ताको राजनीतिमा प्रवेशले देशमा सकारात्मक ऊर्जा थपिएको उल्लेख गर्दै रास्वपासँग जोडिएका काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहको उदयले युवाहरूमा राजनीतिप्रतिको चासो बढाएको बताए । सभापति लामिछानेले यो इतिहासको संवेदनशील मोडमा देशले राम्रो इतिहास लेख्न लागेको धारणा व्यक्त गरे । उनले थरुहट-थारुवान आन्दोलनलाई पार्टीले आत्मसात् गर्ने र त्यसप्रति जिम्मेवारी लिने प्रतिबद्धतासमेत व्यक्त गरे ।