काठमाडौं, पुस २३ :

नेपाली कांग्रेसको विशेष महाधिवेशन यही पुस २७ र २८ गते काठमाडौँमा हुने भएको छ। विशेष महाधिवेशन पक्षधर समूहले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पार्टी विधानअनुसार विशेष महाधिवेशन आह्वान गरेको दाबी गरेका छन्।

महाधिवेशन सूचना तथा प्रचार–प्रसार समितिका संयोजक सुवास पोखरेलले पत्रकार सम्मेलनमार्फत प्रेस विज्ञप्ति सार्वजनिक गर्दै विधानको बाध्यताअनुसार विशेष महाधिवेशन गर्नुपरेको बताए। उनका अनुसार तोकिएको समयमा १५औँ महाधिवेशन सम्पन्न हुन नसकेपछि विशेष महाधिवेशन निर्विकल्प विकल्प बनेको हो।

विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएका महाधिवेशन प्रतिनिधिहरूले पत्रकार सम्मेलनमार्फत विशेष महाधिवेशनको औपचारिक आह्वान गर्दै सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई सहभागिताका लागि आग्रह गरेका छन्।

विज्ञप्तिमा भनिएको छ,‘विधानको मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही २०८२ पुस २७ र २८ गते काठमाडौँमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण, सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौँ।’

विज्ञप्तिमा विशेष महाधिवेशन आवश्यक र अपरिहार्य भएको उल्लेख गरिएको छ। कांग्रेस विधानको धारा १७ (१) अनुसार २०८२ मंसिरभित्र १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको र त्यो सम्भव नभए धारा १७ (२) अनुसार विशेष महाधिवेशन आह्वान गर्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ।

‘पार्टीले २०८२ पुस २८ भित्र १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरे पनि तोकिएको समयमा महाधिवेशन हुन सकेन,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस्तो अवस्थामा विशेष महाधिवेशन आह्वान गर्नु स्वतः निर्विकल्प बनेको हो।’

यद्यपि, नेपाली कांग्रेसको संस्थापन पक्षले भने विशेष महाधिवेशन वैधानिक नरहेको दाबी गर्दै आएको छ, जसका कारण पार्टीभित्र विवाद चर्किएको छ।