काठमाडौं, पुस २७ :

नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले इतिहासको ब्याज मात्र खाएर अब भविष्य नचल्ने बताएका छन् । 

भृकुटीमण्डमा आजबाट सुरु भएको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेता श्रेष्ठले भद्र २३ र २४ गतेको घटनाको स्मरण गर्दै पार्टीमा गुट र उपगुट भन्दामाथि उठेर राष्ट्रियता जोगाउन एक हुनुपर्ने बताए । नेता श्रेष्ठले नेपाली कांग्रेस कमजोर भयो भने लोकतन्त्र कम्जोर हुने जनाउँदै पार्टीको हितका लागि जस्तै सुकै त्याग गर्न तयार हुनुपर्ने बताए । 

उनले स्थिति अत्यन्त जटिल भन्दै मुलुकको राष्ट्रियता खतरामा रहेको दाबी समेत गरे ।नेपाली कांग्रेसले राणा फाल्यो,पञ्चायत ढाल्यो र देशमा गणतन्त्र ल्यायौं भन्दै नेता श्रेष्ठले इतिहासको व्याज मात्र खाएर अब भविष्य नचल्ने बताए ।

उनले भने, ‘समय बदलिएको,पुस्ता बदलिएको छ,जनताका अपेक्षाहरु बदलिएका छन् त्यसैले अब हाम्रो पार्टी चल्ने शैली पनि बदल्नुपर्छ।’ अब नयाँ युवायुवतीलाई अगाडि सार्नुपर्छ र उनीहरुलाई यो देशको हरेक ठाउँमा ल्याउनुपर्नेमा उनको जोड थियो। उनले आफू ७० वर्षसम्म पार्टीमा रहेर रगत पसिना बगाएको बताए ।