
काठमाडौं, पुस २७ :
नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशन प्रक्रियाअन्तर्गत आज साँझ ५:३० बजेसम्म दुई हजार १२० प्रतिनिधिले नाम दर्ता गराएका छन् ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा भइरहेको दुईदिने महाधिवेशनको पहिलो दिन आज यहाँ आठवटा ‘स्टल’बाट नाम दर्ता भइरहेको र सो क्रम अहिले पनि जारी रहेको विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिए ।
नेपाली कांग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँको सभापतित्वमा सञ्चालन भएको उद्घाटन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा गरेका थिए ।