निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन आज नमुना मतदान गरिएको छ। काठमाडौँमा मंगलबार आयोजित प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्ला निर्वाचन अधिकारीहरू सहभागी कार्यक्रममा नमुना मतदान अभ्यास गरिएको हो।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को तयारीका क्रममा आयोजना गरेको अभिमुखीकरण कार्यक्रम अन्तर्गत सहभागी निर्वाचन अधिकृतहरूले मतदान प्रक्रियाको व्यवहारिक अभ्यास गरेका छन्।
यसैबीच नेपालगञ्जमा आयोजित अभिमुखीकरण कार्यक्रममा निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरको सहभागिता रहेको थियो। उनले निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सबै निर्वाचन अधिकारीहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिइन्।
निर्वाचन प्रयोजनका लागि देशभरका सबै क्षेत्रमा निर्वाचन अधिकृत खटाइसकिएको निर्वाचन आयोगले जनाएको छ। प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ।