काठमाडौं, पुस २९ :

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान नहुने भएको छ। विशेष महाधिवेशन निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय आज साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म तोकेको छ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले मतदानसहितको परिमार्जित निर्वाचन कार्यतालिका सार्वजनिक गरिने जानकारी दिँदै आज राति मतदान नहुने स्पष्ट पारे।

‘साँझ ६:३० बजेदेखि ७:३० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। अब समय थप हुँदैन। परिमार्जित कार्यतालिका सार्वजनिक गर्दैछौँ। राति मतदान हुँदैन, भोलि बिहानबाट कार्यक्रमलाई निरन्तरता दिन्छौँ,’ केसीले भने।

यसैबीच विशेष महाधिवेशनको बन्दसत्र करिब ९ घण्टादेखि निरन्तर जारी छ।बन्दसत्रमा पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सम्पूर्ण समय उपस्थित रहेका छन्।

सचिवालयका अनुसार बन्दसत्र अझै करिब दुई घण्टा चल्नेछ । सहभागी प्रतिनिधिहरूबाट आएका सुझावहरूलाई समेटेर दुई महामन्त्रीले सम्बोधन गरेपछि बन्दसत्र सकिने  छ।

गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बाँकी कार्यक्रमहरू बुधबार बिहानबाट अघि बढाइने निर्वाचन समितिले जनाएको छ। यद्यपि सहमतिका लागि संस्थापन पक्षसँग पनि महाधिवेशन प्रतिनिधिहरुको निरन्तर संवाद चलिरहेको छ ।