काठमाडौं, पुस २९ :

नेपाली कांग्रेसका नेता नारायणप्रकाश (एनपी) साउदले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई औपचारिक महाधिवेशन नभई ‘भेला’ मात्र भएको बताएका छन्। पार्टीभित्र देखिएको विवाद समाधानका लागि संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच संवाद जारी रहेकाले उक्त भेला स्थगित गरेर वार्तामा फर्किन उनले आग्रह गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता साउदले भृकुटीमण्डपमा भइरहेको गतिविधि विधानसम्मत विशेष महाधिवेशनको रूपमा अघि बढ्न नसक्ने दाबी गरे। उनका अनुसार पार्टीलाई एकताबद्ध गर्न संवाद नै अहिलेको प्रमुख विकल्प हो।

साउदले संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर छलफल भइरहेको जानकारी दिँदै केही विषयमा सहमति नजिक पुगेको र केही विषयमा अझै छलफल जारी रहेको बताए। 

उनले विशेष महाधिवेशन पक्षधरले अघि सारेका विधानअनुरूपका मागहरू सम्बोधन गर्न पार्टी नेतृत्व सकारात्मक रहेको बताउँदै भने, ‘वार्ता अघि बढेको छ तर निष्कर्षमा पुग्न बाँकी छ। सकारात्मक प्रस्तावलाई सकारात्मक रूपमा लिइएको छ। पार्टी एकता कायम गर्न सबै गम्भीर हुनुपर्छ।’

नेता साउदले ‘भेला’ स्थगित गरेर संवाद प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्दै कांग्रेसको प्रजातान्त्रिक संस्कृतिअनुसार सहमतिमा पुग्न सकिने विश्वास व्यक्त गरे।