काठमाडौं, माघ ८ :

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द गरेको छ ।  पाँचजना उम्मेदवारविरुद्ध उजुरी परेकोमा चौधरीको मात्र उम्मेदवारी रद्द भएको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए । 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवार हुन ‘अयोग्य’ रहेको ठहर निर्वाचन अधिकृतको कार्यालयले गरेको हो।  फौजदारी अभियोग लागेका व्यक्ति चुनावमा उम्मेदवार हुन नपाउने प्राब्धान रहेको छ । 

यस्तै  पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल , भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका रास्वपाका उम्मेदवार राजीव खत्री, सुनसरी -२ मा रास्वपाका उम्मेदवार लालबिक्रम थापा र नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहेकी जानुका पाठकविरूद्ध परेको उजुरी भने खारेज भएको आयोगले जनाएको छ ।

देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारीअनुसार पुरुष ३०८८, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८६ को उम्मेदवारी कायम भएको आयोगले जनाएको छ ।