काठमाडौं, माघ ११ :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध दायर रिटमा आज सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ हुँदै छ । महान्यायाधिवक्ताको निर्णयलाई गैरकानुनी, बदनियतपूर्ण र कानुनको कपटपूर्ण प्रयोग भएको दाबी गर्दै निवेदकहरुले बदर गर्न माग गरेका छन्।

सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर मुद्दा फिर्ता गर्दा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा अपूरणीय क्षति पुग्ने र बचतकर्ताको अधिकार खोसिने रिटमा उल्लेख गरिएको छ। यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले मंगलबार महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ मागेको थियो ।

महान्यायाधिवक्ता भण्डारीले पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौँ, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’को दाबी कायम नरहने गरी अभियोग पत्र संशोधन गर्ने निर्णय गरेकी थिइन् । महान्यायाधिवक्ताको सो निर्णयलाई लिएर चौतर्फी आलोचना भएको छ ।