.jpg)
कागेश्वरी मनोहरा नगरपालिकाभित्रका केही गैरजिम्मेवार व्यापारीहरूले नाफाका लागि उपभोक्ताको ज्यानसँग खेलवाड गर्दै आएको डरलाग्दो अवस्था खुलासा भएको छ। नगरपालिकाले आइतबार गरेको छड्के अनुगमनका क्रममा किराना पसलदेखि मासु पसल र होटलसम्म चरम लापरबाही भेटिएको हो।
केही दिनदेखि सुरु गरिएको अनुगमनलाई तीव्र बनाउँदै वडा नम्बर ८ मा गरिएको अनुगमनका क्रममा अधिकांश किराना पसलहरूमा म्याद गुज्रिएका, सडेगलेका तथा उपभोग गर्न अयोग्य खाद्य सामग्रीहरू बिक्रीका लागि सजाएर राखिएको पाइएको छ। अनुगमन टोलीका अनुसार कतिपय सामान त दुर्गन्ध आउने अवस्थामा समेत थिए।
शिवचोकस्थित मेलम्ची किराना स्टोर र एसियन किराना पसलमा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्ने खालका म्याद गुज्रिएका तथा सडेगलेका खाद्य सामग्रीहरू फेला परेपछि अनुगमन टोलीले तत्काल नियन्त्रणमा लिँदै चेतावनीसहित नष्ट गरेको छ। यस्ता पसलहरू लामो समयदेखि नियमनबिनै सञ्चालन हुँदै आएको पाइएको छ।
यस्तै, वडा नम्बर ८ मै सञ्चालित पूर्वेली याम तामाङ मिट सपमा त झन भयावह अवस्था भेटिएको छ। अनुगमन टोलीले उक्त मिट सपबाट करिब १० केजी सडेगलेको, दुर्गन्धित र मानव उपभोगका लागि पूर्ण रूपमा अयोग्य मासु नियन्त्रणमा लिएर नष्ट गरेको हो। नाफाका लागि अस्वस्थ मासु बिक्री गर्नु सरासर आपराधिक कार्य भएको भन्दै सञ्चालकलाई कडा चेतावनी दिइएको छ।
यसैगरी सोही वडामा सञ्चालित दोलालघाट होटलमा पनि फोहोर, बासी तथा सडेगलेका खानेकुरा ग्राहकलाई खुवाइँदै आएको भेटिएको छ। अनुगमन टोलीले होटल सञ्चालकलाई तत्काल सुधार र सरसफाइ नगरे आगामी दिनमा कारबाहीबाट जोगिन नसकिने चेतावनी दिएको छ।
स्थानीयवासी तथा उपभोक्ताबाट पटक–पटक गुनासो आएपछि नगरपालिकाले जनस्वास्थ्यलाई गम्भीर रूपमा लिएर छड्के अनुगमन गरेको हो। स्थानीय जनप्रतिनिधिहरूले आगामी दिनमा पनि यस्ता गैरजिम्मेवार व्यवसायीमाथि निगरानी कडा बनाइने र लापरबाही दोहोरिए कडा कानुनी कारबाही गरिने स्पष्ट पारेका छन्।