
नाइके पक्राउको विषयलाई लिएर विवाद उत्पन्न भएपछि सिरहा कारागारमा कैदीबन्दीले तोडफोड र आगजनी गरेका छन् । उनीहरुले सिरक लगातका लुगाहरूमा समेत आगजनी गरेका छन् ।
घटनापछी प्रहरीले नाइके इन्द्रजित यादव सहित १३ जनालाई पक्राउ गरेको छ । कारागारभित्र अवैध गतिविधिमा संलग्न रहेको आरोपमा कारागारका नाइके यादवसहित १३ जनालाई कारागारबाट निकालेर जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ ।
जिल्ला सुरक्षा समितिले सोमबार गरेको अनुगमनका क्रममा कारागारभित्रबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र नगद १ लाख २० हजार रुपैयाँ फेला परेको थियो । साथै, अनुगमनका क्रममा चुरोट, सुर्ती लगायतका प्रतिबन्धित सामग्रीसमेत जफत गरिएको छ ।
घटनापछि कारागारको अवस्था तनावग्रस्त बनेको छ । कारागार भित्र र बाहिर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बाक्लो उपस्थिति रहेको छ ।१५० जना कैदी राख्ने क्षमता रहेको सिरहा कारागारमा हाल ४३६ जना कैदीबन्दी रहेका छन् ।