
नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रको रुपमा भिजन-१० सार्वजनिक गरेको छ । जनकपुरमा बुधबार भएको चुनावी सभाका क्रममा सभापति गगनकुमार थापाले ४ पृष्ठको १० बुँदे संक्षिप्त प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन्। सम्मानित भएर बाँच्न पाउने नेपालदेखि समुन्नतिमा लम्कने नेपालसम्मको योजना उल्लेख छ ।
प्रतिज्ञापत्रको विस्तृत अंश भने बिहीबार राष्ट्रिय सभागृहमा हुने आयोजित कार्यक्रममा सार्वजनिक गरिने भएको छ । घोषणापत्रमाथि उठेका प्रश्नहरूको जवाफ सभापति थापाले दिने कार्यक्रम छ ।
प्रतिज्ञापत्र सार्वजनिक गर्ने क्रममा सभापति थापा, उपसभापति एवम् निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल, मधेस प्रदेशका सभापतिसहित नेताहरूको उपस्थिति रहेको थियो ।
प्रतिज्ञापत्र सार्वजनिक भएको सन्दर्भमा कांग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी भिजन १० का बुँदाबारेमा जानकारी गराएको छ । प्रतिज्ञापत्र केवल देखाउन मात्रै नभई कार्यान्वयन गरेर समुन्नत नेपाल सम्मानित नेपालीको नारालाई व्यवहारमा ल्याउने प्रतिबद्धता जनाएको छ ।
यस्ता छन् कांग्रेसका भिजन-१०
१. सम्मानित भएर बाँच्न पाउने नेपाल
२. सपना देख्न सक्ने नेपाल
३. सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
४. पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
५. ओखती र ओत दिने नेपाल
६. छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७. बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८. मौलिकतमा गर्व गर्ने आधुनिक नेपाल
९. विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
१०. समुन्नतिमा लम्किने नेपाल