विराटनगर, फागुन ८ :

निर्वाचनका आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन आयोग प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार आयोग र नेपाल कानुन समाजले विराटनगरमा आयोजना गरेको निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक कार्यक्रममा भण्डारीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न आचारसंहितालाई कडाइका साथ पालना गराउन प्रतिबद्ध रहेको बताएका हुन्

नयाँ आचारसंहिताअनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई कारबाही गर्न सक्ने अधिकार प्रदान गरिएको उल्लेख गर्दै उनले निडर र निर्भीक भएर आचारसंहिता कार्यान्वयन गर्न निर्देशन समेत दिए।

उनले निर्वाचनलाई मर्यादित, पारदर्शी र खर्च नियन्त्रणयुक्त बनाउन आचारसंहिताले स्पष्ट मापदण्ड तय गरेको जानकारी दिए । भण्डारीले निर्वाचन आचारसंहिताको कार्यान्वयनमा सबै सरोकारवालाको सहयोग अपरिहार्य रहेकाले  जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह समेत गरे ।

निर्वाचन प्रक्रियामा पारदर्शिता र उत्तरदायित्व कायम राख्न आयोगले अनुगमन संयन्त्रलाई थप सुदृढ बनाएको उनको भनाइ छ ।