ललितपुर, फागुन १० :

नेपाली कांग्रेसले फागुन २१ मा हुने निर्वाचनको मिति नजिकिँदै गर्दा आफ्ना उम्मेदवारहरूलाई दुर्व्यवहार र अपमान गर्ने काम भइरहेको आरोप लगाएको छ। कांग्रेसका प्रवक्ता देवराज चालिसेले तत्काल त्यस्ता गतिविधि रोक्न माग गरेका छन्।

प्रतिनिधिसभा निर्वाचनको तयारी र समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले निष्पक्ष निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिए । निर्वाचनको माहोलमा धार्मिक सद्भाव बिगार्ने गतिविधि नगर्न उनले सबै पक्षलाई सचेत गराए।

कांग्रेसले हालसम्म निर्वाचन प्रक्रियामाथि कुनै शंका नगरेको जनाउँदै कांग्रेसले भयको राजनीति नगर्ने पनि उनले स्पष्ट पारे। व्यक्तिगत गालीगलौज र पार्टीका झण्डा जलाउने कार्य निन्दनीय भएको उल्लेख गर्दै  दाङको तुलसीपुरमा एमालेको झण्डा जलाइएको घटनाको कांग्रेसले निन्दा गरे।  उनले नेपाली कांग्रेसमा एमाले र रास्वपाका थुप्रै नेताहरू प्रवेश गरेकोबाट पनि जनआकर्षण चुलिएको बताए ।