इटहरी, फागुन १२ :

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले कुनै प्रतिशोध नराखी ४६ साल पछिका सवै प्रकरणको छानबिन हुने बताएका छन् ।

मंगलबार इटहरीमा आयोजित चुनावी परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै लामिछानेले भ्रष्टाचारप्रति रास्वपा निर्मम भएर अघि बढ्ने भन्दै कुनै प्रतिशोध नराखी ४६ साल पछिका सवै प्रकरणको छानबिन हुने बताएका हुन् ।

उनले विधिको शासन स्थापित गर्दै मुलुकमा सुशासन कायम गरिने धारणा राखे । समयमा काम गर्ने निर्माण व्यवसायीलाई डोरीले नभइ नीतिले बाध्ने कुरा रास्वपाले गरेको भन्दै लामिछानेले राम्रा काम गर्ने निर्माण व्यवसायीलाई देशको नीतिले रक्षा गर्ने वातावरण बनाउने स्पष्ट पारे ।

त्यस्तै उनले सहकारीका बिषयमा आफूलाई धेरै आरोपमाथि आरोप लगाएपनि रास्वपा नेतृत्वको सरकार बनेपछि सय दिनभित्र बचतकर्ताको पैसा फिर्ता गर्न सुरु गर्ने बताए। लामिछानेले देशमा परिवर्तनका लागि योगदान दिन आह्वान समेत गरे ।

त्यस्तै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले नयाँ उद्योग कलकारखाना स्थापनका लागि दस जना नेतालाई ढोग्ने परम्परा र चन्दा दिनुपर्ने अवस्थालाई रास्वपाले अन्त्य गर्ने बताए । उनले कोसीमा प्रचुर औधोगिक वातावरण बनेपनि अघि बढ्न नसकेको उल्लेख गर्दै समग्र पूर्वी क्षेत्रको विकास गर्न रास्वपा तयार रहेको धारणा राखे । शाहले देशलाई जोगाउने पार्टी बनेर रास्वपाले जनताको मत जित्ने जिकिर गरे ।