काठमाडौं, फागुन १७ :

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको पूर्वव्यवस्था सवै सम्पन्न भइसकेको बताएका छन् ।

प्रेस काउन्सिलले आइतबार काठमाडौंमा आयोजना गरेको मौन अवधि र मिडिया विषयक अन्तर्क्रियामा भण्डारीले मतदान सामाग्री, जनशक्तिलगाएतका निर्वाचनका लागि आवश्यक सवै व्यवस्था सम्पन्न भइसकेको बताएका हुन्।

फागुन २१ गते हुने निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६९९ मतदातालाई २३ हजार १ सय १२ मतदान केन्द्रमा गएर मत दिने अधिकार सुरक्षित गरिएको उनले बताए । भण्डारीले मतदानका लागि धेरै समय कुर्न नपर्नेगरी प्रविधिमैत्री बनाइएको जानकारी दिए ।

उनले आचारसंहिताको सबैले पालना गरेर निर्वाचनलाई सफल पार्नु सबैको दायित्व भएको धारणा राखे । निर्वाचनका लागि फागुन १८ गते मध्यरातिदेखि मौन अवधि सुरु हुने भएकाले यसको पूर्णपालना गर्न सञ्चारजगतलाई उनले आग्रह गरे ।

मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशित गर्न नहुने भन्दै उनले बरु मतदाता शिक्षा, निर्वाचन प्रक्रिया लगाएतका बिषयमा कलम चलाउन सुझाव दिए ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न आयोग गम्भीर भएर लागेको भन्दै झुटा सामाग्री प्रचार गर्नेबिरुद्ध कारवाही प्रक्रिया अघि बढाइएको जानकारी दिए ।