
यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचन सामग्री सम्बन्धित मतदान केन्द्रहरूमा पुर्याउने कार्य अधिकांश जिल्लामा सम्पन्न भएको छ।
घोराहीस्थित प्रदेश निर्वाचन कार्यालय लुम्बिनीबाट बुझिएका निर्वाचन सामग्री कर्मचारी र सुरक्षाकर्मीको साथमा बङ्लाचुली गाउँपालिकाका मतदान केन्द्रमा पुर्याइएको छ। सुरक्षा व्यवस्था कडा पार्दै सामग्री ढुवानी गरिएको जनाइएको छ।
त्यस्तै जिल्ला निर्वाचन कार्यालय तनहुँबाट सोमबार निर्वाचन सामग्री बुझेर कर्मचारीको टोलीले सम्बन्धित मतदान केन्द्रमा पुर्याएको छ।
हिमाली जिल्ला चामे–३ कोतोबाट सुरक्षाकर्मी तथा कर्मचारीले मतपेटिका बोकेर दुर्गम नार्पाभूमितर्फका मतदान केन्द्रमा सामग्री पुर्याएका छन्। दुर्गम भूगोल र कठिन मौसमका बाबजुद आवश्यक सामग्री समयमै ढुवानी गरिएको बताइएको छ।
यसैगरी जिल्ला निर्वाचन कार्यालय पाँचथरबाट पनि आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान सामग्री सम्बन्धित केन्द्रमा पठाइएको छ।
निर्वाचन आयोगका अनुसार देशभरका अधिकांश मतदान केन्द्रमा आवश्यक सामग्री पुर्याइसकिएको र शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित मतदानका लागि सुरक्षा व्यवस्थासमेत सुदृढ गरिएको छ।
तस्बिर रासस ।