काठमाडौं, फागुन २७ :

परराष्ट्र मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण स्वदेश फर्कन चाहने नेपाली नागरिकहरुलाई सरकारले जसरी पनि उद्दार गर्ने जनाएको छ । बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रले मध्यपूर्वका देशमा गएका श्रमिकहरुलाई समस्या देखिए जसरी पनि उद्दार गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्वी देशमा रहेका नेपाली श्रमिकहरू जोखिममा नरहेको बताए । उनले नेपाली श्रमिकहरू जोखिममा परे उद्दारका लागि नेपाल सरकार तयारी अवस्थामा रहेको बताए ।

एकैपटक लाखौंको संख्यामा उद्दार गर्नुपर्ने अवस्था आए त्यहिप्रकारको पूर्वाधार जुटाइने उनले बताए । मन्त्री शर्माले मध्यपूर्वको द्वन्द्वका कारण श्रमिकहरु भन्दा बढि ट्रान्जिटमा फसेकाहरु समस्यामा रहेको उल्लेख गरे । ट्रान्जिटमा फसेकाहरुको आवास र खानपानको व्यवस्था सम्बन्धित नियोग र सम्बन्धित एयरलायन्यसहरूले व्यवस्था गरेको उनले जानकारी दिए ।

त्यसैगरी परराष्ट्रका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले मध्यपूर्वको द्वन्द्वका कारण हालसम्म १५ जना नेपाली घाइते भएको र एक जनाको मृत्यु भएको जानकारी दिए । मृत्यु भएकाको अव नेपाल ल्याएर परिवारलाई हस्तान्तरण समेत भइसकेको र क्षतिपूर्तिको प्रक्रिया अघि बढाइएको उनले बताए ।

उनले द्वन्द्वमा प्रभावित नेपाली नागरिकलाई सम्पर्कमा ल्याउन नेपाली नियोगहरूले काम गरिरहेको उल्लेख गरे । हालसम्म कन्सुलर विभागको अनलाइनमा ६३ हजार ५ सय ७० जनाले आफ्नो विवरण दर्ता गरेको र असुरक्षित महसुस गरेकाहरुलाई नियोगमार्फत सम्पर्क गर्ने काम भइरहेको खड्काले बताए ।