काठमाडौं, फागुन २८ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको नतिजा स्वीकार गर्दै जनताको मतलाई सम्मान गर्ने बताएका छन्।  

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले निर्वाचनमा अपेक्षित सफलता नमिले पनि जनताको मतलाई लोकतान्त्रिक अभ्यासको रूपमा लिँदै आगामी राजनीतिक यात्रालाई थप सक्रिय बनाउने प्रतिबद्धता जनाएका छन्।

लोकतन्त्रमा जनताको फैसला नै अन्तिम हुने बताउँदै ओलीले प्राप्त जनमतलाई पूर्ण सम्मानका साथ शिरोधार्य गर्ने प्रतिबद्धता जनाएका छन्। हारबाट विचलित नभई आगामी दिनमा पनि जनताकै बीचमा रहेर काम गर्ने र यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने उनको दृढता छ।

ओलीले जनताप्रतिको सेवाभाव र प्रतिबद्धतामा कुनै कमी नआउने स्पष्ट पारेका छन्। निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि पार्टीको चुनाव चिन्हमा मतदान गर्ने सम्पूर्ण मतदातालाई विशेष धन्यवाद दिँदै उनले चुनावी परिणामले पार्टीको जनसेवाको यात्रालाई नरोक्ने बताएका छन्।