
काठमाडौं, चैत १ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको छ । पार्टीले आजै सिफारिस भएकाहरूको सूची निर्वाचन आयोगमा बुझाउने भएको छ ।
बैठकले १७ जना खसआर्य, १६ जना जनजाति, तीन जना मुस्लिम, आठ जना दलित, नौ जना मधेसी तथा चार जना थारु ‘क्लस्टर’बाट सिफारिस गरिएको बैठकपछि पार्टी प्रवक्ता मनिष झाले सञ्चारकर्मीहरूलाई बताए । समानुपातिकतर्फ पाएको ५७ सिटका लागि ४८ महिला र ९ पुरुषको नाम टुङ्गो लगाएको हो ।
काठमाडौँको वनस्थलीस्थित घण्टीघरमा बसेको बैठकमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह भने भर्चुअल्ली सहभागी भएका थिए । बैठकमा पार्टी संसदीय दलको विधान संशोधन, दलको नेता चयन र सरकार गठनका विषयमा पनि सामान्य छलफल भएको हो ।