
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम परिणामसहितको प्रतिवेदन यही चैत ५ गते राष्ट्रपति समक्ष बुझाउने भएको छ। सोही दिन समानुपातिकतर्फका नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेलगत्तै आयोगले अपराह्न शीतल निवासमा गएर राष्ट्रपति समक्ष प्रतिवेदन बुझाउँनेछ ।
आयोगका अनुसार चैत ५ गते बिहान ११:३० बजे आयोग परिसरमा समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम छ।
आयोगले प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठन र संसदीय गतिविधि सुरु हुनेछ। प्रतिवेदन प्राप्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ नयाँ सरकार गठनका लागि दललाई आह्वान गर्नेछन्। आयोगको प्रतिवेदनमा सबैभन्दा ठूलो दलको रूपमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार गठनका लागि पहिलो अवसर प्राप्त गर्नेछ।
सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये ज्येष्ठ सदस्यले गर्नेछन्। संसदीय परम्पराअनुसार ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीलाई राष्ट्रपतिले सपथ गराउनेछन्।