ललितपुर, चैत १० :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाधिवेशनको गाडी आफूले हांकेको र अब त्यो गाडिपछि नहट्ने बताएका छन् । मंगलबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले अब पार्टीको सिंगो पंक्ति महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने बताए ।

विशेष अधिवेशनमा कसले भाग लियो कसले लिएन भन्ने कुरा सकियो भन्दै थापाले सबैलाई सहभागी गराएर अघि बढ्ने बताए ।अब हुने महाधिवेशनमा सहभागी हुने क्रममा को विशेष महाधिवेशनमा सहभागी भयो वा को भएन भन्ने कुरालाई लिएर मनमा राख्न नहुने पनि बताए ।

सभापति थापाले भदौ २२ र २३ का घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने बताए । उनले आफूहरू प्रतिपक्षमा भए पनि जिम्मेवार विषयमा आफूहरू रास्वपासँग सहकार्य गर्न तयार रहेको बताएका छन् । सभापति थापाले कतिपय विषय सरकार एक्लैले गर्न नसक्ने बताउँदै खाडीका देशमा देखिएको तनाव त्यस्तै एउटा विषय भएको बताए । उनले आफूहरूलाई विकासको गति चाहिएको बताउँदै तर कतिपय संवैधानिक स्वतन्त्रता खुम्च्याउने काम स्वीकार्य नभएको बताए ।