
रास्वपा सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटमा बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा आइतबारलाई पेसी तोकिएको छ ।
बिहीबार महान्यायाधिवक्ता सविता भण्डारी बरालसहित सरकारी वकिल र लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गर्न भ्याए । लामिछानेकै तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलगायतको बहस बाँकी रहेपछि हेर्दाहेर्दै आइतबारका लागि राखिएको हो । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा प्राथमिकताका साथ सुनुवाइ भइरहेको छ।
वरिष्ठ अधिवक्ता त्रिपाठी, आयुष बडाल र युवराज पौडेलले दायर गरेको रिटमा महान्यायाधिवक्ता कार्यालयको निर्णयलाबदर गर्न माग गरिएको थियो ।
महान्यायाधिवक्ता सविता भण्डारीले २०८२ पुस ३० गते लामिछानेविरुद्ध दायर मुद्दाहरूमा ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’को दाबी कायम नरहने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन् ।