काठमाडौं, चैत १९ :

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले आफूहरूमाथि चौबिसै घण्टा निगरानी गर्न प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन् । 

बिहीबारबाट सुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् । 

लामिछानेले जनताले दिएको विशाल बहुमतको इतिहास गुमाउन नहुने बताए । साथै, उनले आफूहरू प्रश्न मात्रै देखाउने नभइ जवाफ खोज्न पनि आउने बताए । आस्थाका आधारमा प्रतिशोध हुने उनको भनाइ थियो ।

लामिछानेले जनताले आफूहरूलाई दिएको मतादेशको ऋण जिम्मेवारी पूरा गरेर तिर्ने बताए । उनले आफूहरूलाई जनताले सिंहदरबार चलाउन नभई सिंहदरबार बदल्नका लागि मत दिएको र सोहीअनुसार काम सुरु गरिसकेको स्पष्ट गरे ।

“हामी प्रश्न गरेर यो ठाउँमा आएका हौँ । हामीले बोलेर होइन कामबाट आफूलाई प्रमाणित गर्नुपर्छ । हामी विगतका कमजोरीबाट पाठ सिक्नेछौँ”, सभापति लामिछानेले भने, “यो संसद् बहसको थलो हुनेछ, प्रतिशोधको थलो होइन । प्रतिपक्षलाई अन्यायपूर्वक प्रतिशोध र अत्याचार हुनेछैन, तर सुशासनको बेग पनि रोकिनेछैन । रास्वपाका हरेकले बोलेर होइन, कामबाट आफूलाई प्रमाणि गर्नुपर्नेछ ।”

आफ्नालाई बचाउन र अरुलाई फसाउन कानुन नै संशोधन हुने क्रम अब नहुने जिकिर गर्दै उहाँले सहिदको आमाको न्याय पाउने पहिलो हक भएकाले त्यसलाई प्रतिशोध भन्न नपाइने बताए ।

सभापति लामिछानेले बिचौलिया र माफियाले थिचिएको निजी क्षेत्रलाई अब त्यस्तो दबाब नपर्ने भन्दै समान अवसर र व्यावसायिक वातावरण सरकारले मिलाउने प्रतिबद्धता व्यक्त गरे  । उनले जातीय र लैङ्कि आधारमा कुनै विभेद नहुने सङ्कल्प गर्दै ज्येष्ठ नागरिकको सम्मान र बालबालिकाको शिक्षा, स्वास्थ्यका लागि विशेष ध्यान दिने बताए ।

विगतमा राजनीतिक नियुक्ति लिएकालाई स्वेच्छिक रूपमा मार्गप्रशस्त गर्ने अपेक्षा गर्दै उनले नयाँ नियुक्तिमा विधि र योग्यताको मापदण्ड पालना हुने स्पष्ट गरे । सभापति लामिछानेले राजदूतको नियुक्ति बिचौलियाको प्रभावमा नभई श्रमिकको हितकेन्द्रित हुने पनि बताए ।

गैह्रआवासीय नेपालीको पुँजी, सीप र अनुशासनलाई नेपालको आर्थिक विकासमा उपयोग गर्ने बताउँदै उहाँले मुलुकले प्रतिपक्षलाई पनि साथमा लिएर मित्रवत् र पारदर्शी परराष्ट्र नीति कायम गर्ने बताए ।