काठमाडौं, वैशाख २ :

प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिकतर्फका सांसदहरुसँग छलफल गरेका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे समानुपातिकतर्फका सांसदहरुसंग छलफल गरेका हुन् । 

छलफलका क्रममा सांसदहरुले निर्वाचन क्षेत्रमा देखिएका समस्याका साथै सरकारले तत्काल गर्नुपर्ने काममा बारेमा सुझाव दिएका थिए । साथै उनीहरुले संसदमा प्रत्यक्ष र समानुपातिक सांसदबीच विभेद नगर्न समेत आग्रह गरेका थिए ।

छलफलपछि एमाले सांसद पद्मा अर्यालले आफ्नो समूदायका समस्या र विभिन्न विषयमा प्रधानमन्त्रीसंग कुराकानी भएको उल्लेख गरिन् । मुलुकको नीति तथा कार्यक्रम, लामो समयदेखि अबरुद्ध भएका योजनाहरुलाई अघि बढाउने लगाएतका विषयमा समेत सुझाव दिइएको उनले बताए ।

जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ छलफल गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।