
फाइल तस्बिर ।
नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सह–संयोजक माधव कुमार नेपालले वर्तमान सरकारले नागरिकको अधिकार खोस्न लागेको आरोप लगाएका छन् ।
अन्तराष्ट्रिय मजदुर दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ र एकीकृत ट्रेड युनियन महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सह–संयोजक नेपालले गणतन्त्रमा सवै नागरिकको अधिकार सुनिश्चित हुनुपर्नेमा वर्तमान सरकारले नागरिकको अधिकार खोस्न लागेको आरोप लगाएका हुन् ।
विद्यार्थी र मजदुरहरुको अधिकार नै सरकारले खोस्न लागेको भन्दै उनले संगठित हुन पाउने संवैधानिक अधिकार कसैले खोस्न नपाउने उल्लेख गरे । उनले देशलाई अघि बढाउन कुनै समस्या भए आफूहरु पनिसंगै बसेर समाधान खोज्ने धारणा राखे।
त्यस्तै सह–संयोजक नेपालले वास्तविक सुकुम्वासीको पहिचान नै नगरी दमन गर्ने कामलाई जायज भन्न नसकिने स्पष्ट पारे । वर्तमान सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेकाले सरकारको प्रारम्भिक लक्षण राम्रो नदेखिएको उनको भनाइ छ ।
उनले जनतालाई पीडा र यातना दिने गरी जनविरोधी काम नगर्न समेत सरकारलाई सुझाव दिए । नेपालले मजदुरहरुको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न पनि आग्रह गरे ।